नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भोलि

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । तर,हाल प्रधानन्यायाधीश नियुक्त नभएकाले कायममुकायम प्रधानन्यायाधीश कार्कीले शपथ खुवाउनुहुने छ ।

पौडेलको शपथ ग्रहणपछि उहाँको औपचारिक पदावधि सुरू हुनेछ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।

उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा पौडेलले ३३ हजार ८ सय २ र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभएको थियो।

यस्तै, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिदैछ।

Back to top button