प्रमिला यादवले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमनले यादवको उम्मेदवारी फिर्ता हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘प्रमिला यादवज्यूको निर्धारित समयमा नै उम्मेदवारी फिर्ता हुन्छ । रामसहाय यादवको उम्मेदवारी कायम हुने निर्णय भएकाले प्रमिला यादवज्यूको उम्मेदवारी फिर्ता हुन्छ ।’

निर्वाचन आयोगका अधिकारीले राष्ट्रपतिमा पुरूष उम्मेदवार भएकाले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउनुपर्ने बताएपछि सत्ता गठबन्धन दल जसपाले पुरूष र महिला दुवै उम्मेदवार उठाएको थियो। जसपाबाट रामसहाय यादव र प्रमिला यादवले उम्मेदवारी दिनुभएको थियो।

उपराष्ट्रपतिमा रामसहायले उम्मेदवारी दिएपछि उपराष्ट्रपतिका उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जतमत पार्टीकी ममता झाले उहाँविरूद्ध उजुरी दिनुभएको थियो।

तर, निर्वाचन आयोगले आज यादवको उम्मेदवारी यथावत रहने निर्णय गरेपछि प्रमिलाले उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको हो । आयोगले खस आर्य समुदायको भन्दा फरक मधेशी समुदाय यादव उम्मेदवार हुन अयोग्य भन्न नमिल्ने भएकाले उहाँको उम्मेदवारी कायमै राख्ने जनाएको छ।

उपराष्ट्रपतिका लागि ४ जनाको उम्मेदवारी परेको थियो। सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव,जनतमतबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिनुभएको थियो।

यस्तै, उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुने तय भएको छ ।

Back to top button