सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्रका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो ।

सुकुम्बासी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको प्रस्ट पार्नुभयो ।

मेयर कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको बताउनुभयो ।

घरसहित व्यवस्थित गर्ने योजना रहेको भन्दै मेयर कोइरालाले यसमा भूमीहिनहरुको पनि साथ चाहिने बताउनुभयो । उहाँले सक्नेले आर्थिक र नसक्नेले श्रमदान गर्नुपर्ने भन्दै त्यस्तो हुँदा आफूले पाएको चिजको महत्व र माया हुने तर्क गर्नुभयो ।

उपमेयर शिल्पा निराला कार्कीसमेतको उपस्थितिमा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले छलफलको उद्देश्यमाथि प्रकाश पार्नुभयो । उहाँले सडक छेउछाउ निर्माण गरिएका अव्यस्थित झुप्राझाप्रीले महानगरको सौन्दर्यतामा समेत ह्रास आउने बताउनुभयो ।

कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका नगर अध्यक्ष हीराकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी भूमिहीन संगठनकी इन्दिरा पौडेल चौलागाईं, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहाल, सुकुम्बासी संगठनमा आबद्ध काशी पौडेल, रमेश ऋषिदेव, कुलबहादुर गुरुङ, चम्पादेवी, लक्ष्मी खड्का, जितेन्द्र ऋषिदेवले महानगरपालिकाले पहिलोपटक बोलाएर छलफल गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

अहिलेको महानगरको नेतृत्व सुकुम्बासी समस्या समाधान गर्न गम्भीर भएर लागेको महशुष भएको उहाँहरुको भनाई छ । महानगरले छानबिन गरेर वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थित गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

छलफलमा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, १२ का हिरालाल कामत, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साह, कार्यपालिका सदस्य कमला श्रेष्ठ, सरिता घिमिरे, दीपक कर्णलगायतको उपस्थिति थियो ।

Back to top button