युईएलाई १ सय ७७ रनले पराजित गर्दै नेपाल दुई खेल अघि एकदिवसीय मान्यता जोगाउन सफल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत अन्तिम शृंखलाको दोस्रो खेलमा यूएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले दुई खेल अघि नै एकदिवसीय मान्यता जोगाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९ .२ ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२.५ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्रै बनाउन सक्यो। नेपालका लागि शानदार बलिङ गर्नुभएका ललित राजवंशीले ७.५ ओभरमा २० रन खर्चेर दुई मेडनसहित सर्वाधिक ५ विकेट लिनुभयो ।

यस्तै, सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुभयो । त्यसबाहेक दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिनुभयो ।

नेपालको कसिलो बलिङसामू सम्हालिन नसकेको यूएईका लागि आयान खानले २९ रन बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान गर्न सकेनन्।

दुई खेल अगावै एकदिवसीय मान्यता जोगाउन सफल भएको नेपालले यो जितसँगै शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राखेको छ।

आजको खेलमा पराजित भएसँगै यूएईले एकदिवसीय मान्यता जोगाउने गणितीय सम्भावना मात्र बाँकी रहेको छ।

Back to top button