उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायम

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी पनि कायम राखेको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध हिजो एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिनुभएको थियो । तर आयोगले आज विहानै यादवको उम्मेदवारी पनि कायम रहने निर्णय गरिसकेको थियो ।

आज अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुभएको छ । जसमा हिजो उम्मेदवारी दिने अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव, प्रमिला कुमारी र ममता झा चारैजनाको नाम समावेश छ ।

निर्वाचन आयोगले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने निर्णय गरे पनि जसपाले आफ्नो पार्टीका दुबै उम्मेदवार कायम राखेको छ ।

जसपाले २५ फागुनमा नै रामसहाय उपराष्ट्रपतिको उम्मेदवार तोकेको थियो । तर राष्ट्रपति र उपराष्ट्रपति दुबै पुरुष हुन नहुने प्रश्न उठेपछि जसपाले प्रमिला कुमारीलाई पनि उम्मेदवार बनाएको थियो ।

निर्वाचन आयोगले रामसहायको उम्मेदवारी सदर गरे पनि अदालतमा मुद्दा पर्न सक्ने आशंकाले अन्तिमसम्म दुबै उम्मेदवार कायम राख्ने जसपाका एक नेताले बताउनुभएको छ ।

Back to top button