शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न माओवादी धारका ९ दलको माग

काठमाडौं । माओवादी धारका ९ राजनीतिक दलहरुले सरकारसँग आवश्यक कानुन बनाई अविलम्ब शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न माग गरेका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न माग गरेका हुन् ।

पत्रकार सम्मेलन मार्फत संयुक्त अपिल जारी गर्दै माओवादी धारका ९ राजनीतिक दलहरुले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरुको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको उल्लेख गरेका छन् ।

उनीहरुले संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने समेत बताएका छन् । संयुक्तरुपमा अपिल गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी–माओवादी), नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र आम जनता पार्टी रहेका छन् ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) र माओवादी कम्युनिष्ट पार्टी नेपाल रहेका छन् ।

उनीहरुले कानुन परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् । ९ दलले विस्तृत शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरु, नागरिक समाज एवं आम समुदायलाई संक्रमणकालीन न्यायको पक्षमा ऐक्यबद्धताका लागि अपिल पनि गरेका छन् ।

Back to top button