मोरङ जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मोर्डनएरालाई

विराटनगर । युनिभ मोर्डनएरा कलेजले मोरङ जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरको पुष्पलाल चौकको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा मोर्डनएरराले इडनबर्ग कलेजलाई ३– शुन्यको सोझो सेटमा पराजित गरेको हो । सुरुवाती दुई सेटमा सहजै जीत निकालेको मोर्डनएराले तेस्रो सेटमा भने कठिन जीत निकालेको थियो ।

मोर्डनएराले २५–१३, २५–१४ र २५–२३ को सोझो सेटमा जीत निकाल्दै विजेता बनेको हो । जीतसँगै मोर्डनएरा कलेजले नगद ३१ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता इडनबर्गले नगद २१ हजारमा चित्त बुझाएको छ ।

प्रतियोगिताको विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका खानेपानी सिंँचाइ तथा उर्जामन्त्री तीलकुमार मेन्याङ्वोले पुरस्कार तथा शिल्ड वितरण गर्नुभयो ।

उपविजेता टिमलाई नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी कोशी प्रदेशका पूर्व अध्यक्ष सागर थापाले पुरस्कार तथा शिल्ड वितरण गर्नुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिदै मोर्डनएराका रविन गौतमले नगद १० हजार प्राप्त गर्नुभयो । उत्कृष्ट स्पाइकरमा इडनबर्गका सुमन बुढाथोकी, उत्कृष्ट सेटरमा मोर्डनएराका दमन खवास, उत्कृष्ट सर्बरमा मोर्डनएराका पुकार तामाङ, उत्कृष्ट लिब्रोमा मोर्डनएराका योगेश राई, उत्कृष्ट ब्लकरमा इडनबर्गका विराज थापा र उदयमान खेलाडीमा इडनबर्गका सुसन धिमाललाई पुरस्कृत गरिएको छ ।

उहाँहरुले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा गत बिहीबारबाट सञ्चालन भएको प्रतियोगितामा ९ वटा टिमले सहभागीता जनाएको खेल संयोजक नवराज नेपालले जानकारी दिनुभयो ।

Back to top button