नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको सपथ लिँदै

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने हुनुभएको छ ।

राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि आज दिउँसो १ बजे विशेष समारोहको आयोजना गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुनेछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्ने उल्लेख छ।

नेपालमा विसं २०६२/०६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।

यसैबिच दुई कार्यकाल राष्ट्रपति हुनुभएकी विद्यादेवी भण्डारी नवनिर्वाचि राष्ट्रपति पौडेललाई कार्यभार सुम्पिदै आज निजी निवास सर्दै हुनुहुन्छ ।

Back to top button