रास्वपा तत्काल सरकारमा जाने तयारीमा छैन : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ ।

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’

सभापति लामिछानेले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताउनुभयो । उहाँले थप्नुभयो,‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उहाँले बताउनुभयो । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गनुभयो ।

सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उहाँको भनाइ थियो ।

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनको तयारी सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

Back to top button