
काठमाडौं । सन्दीप लामिछानेको ५ विकेटप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिदेशीय एकदिवसीय शृंखलामा पीएनजीलाई ९५ रनमा अलआउट गरेको छ।
नेपालका सशक्त बलिङ गर्नुभएका सन्दीपले १० ओभरमा २५ रन खर्चेर एक मेडनसहित सर्वाधिक ५ विकेट लिनुभयो।
टस जितेर फिल्डिङ थालेको नेपालले ३२औं ओभरमा पीएनजीको पूरै टिमलाई पभिलियन फर्काएपछि ९६ रनको झिनो लक्ष्य पाएको छ।
नेपालका लागि ललित राजवंशीले ७ ओभरमा १३ रन खर्चेर १ मेडनसहित २ विकेट लिनुभयो। यस्तै, कुशल मल्लले ३ ओभरमा ६ रन खर्चेर एक मेडनसहित २ विकेट लिनुभयो। ५ ओभरमा २२ रन खर्चिनुभएका सोमपाल कामीले २ मेडनसहित १ विकेट लिनुभयो।
पीएनजीका ओपनर किप्लिन डोरिगा २, हिरी १४ र सेसे बाउ १८ रन जोडेर पभिलियन फर्किनुभयो। यस्तै कप्तान आसाद भाला २०, चार्ल्स अमिनी १६ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
घरेलु मैदानमा लिग–२ को अन्तिम शृंखला खेलिरहेको नेपाल आजको खेलमा जित निकाल्दै शीर्ष तीनमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ।
नेपालले आज र बिहीबार हुने यूएईविरुद्धको खेलमा जित निकाले शीर्ष तीनमा रहँदै अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ।
आइतबार यूएईलाई १ सय ७७ रनले पराजित गर्दै नेपालले एक दिवसीयमा मान्यता आगामी ४ वर्षका लागि जोगाइसकेको छ।