शान्ति सम्झौताको मर्म अनुरुप नै अदालतले आदेश गर्‍यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व–माओवादीहरूबीच छिट्टै एकता हुने बताउनुभएको छ ।

पछिल्लो पटक विस्तृत शान्ति सम्झौताको मर्म विपरित आफूहरूविरुद्ध अदालतमा परेको मुद्धाले पूर्व–माओवादीहरूलाई एक ठाउँमा उभ्याएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो,‘सर्वोच्च अदालतले समेत शान्ति सम्झौताको मर्म अनुरुप नै आदेश गरेको छ । त्यो सकारात्मक कुरा हो । ’

प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालिन मुद्दाहरू विस्तृत शान्ति प्रक्रियाको भावनाअनुसार नै हल हुनेमा ढुक्क हुन सरोकारवालालाई आग्रह गर्नुभयो । विगतमा भएका फुटलाई अनुभवको रुपमा ग्रहण गर्दै निषेधको राजनीति त्यागी पूर्वमाओवादी धारमा रहेका पार्टीहरूबीच पुनः एकता गर्नुपर्ने उहाँले बताउनुभयो ।

जनयुद्धकालिन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सर्वोच्चले गत शुक्रबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई विपक्षी बनाइ दायर गरेको रिटमाथि सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

जनयुद्धकालिन विषयलाई लिएर सर्वोच्चमा आफ्‍ना नेता तथा प्रधानमन्त्री प्रचण्डविरूद्ध रिट परेपछि माओवादी धार एकजुट भएका छन्। केही दिनअघि पत्रकार सम्मेलन गर्दै माओवादी धारका ८ दलले शान्ति सम्झौता र परिवर्तनका विरूद्ध हुने गतिविधिको एकमत भएर प्रतिवाद गर्ने बताएका थिए।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाउन उनीहरूले माग गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले ३ वर्षअघि टुँडिखेलमा जनयुद्धका क्रममा १७ हजार जनाको मृत्यु भएको र त्यसमध्ये ५ हजारको जिम्मा आफूले लिने अभिव्यक्ति दिनुभएको थियो। सार्वजनिक कार्यक्रममै प्रचण्डले मान्छे मारेको जिम्मा लिएपछि पीडित कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका हुन्।

Back to top button