
सुन्दरहरैचा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुकुना बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा विभेद भएको भन्दै निर्वाचन समितिको कार्यलयमा तालाबन्दी गरेको छ । निर्वाचन समिती संगठनहरुविचमा विभेद र पक्षपाती ढंगले अघि बढेको भन्दै अनेरास्ववियुले तालाबन्दि गरेको हो ।
नेकपा एमाले निकट अनेरास्ववियु नेकपा समाजवादी निकट अनेरास्ववियूको अन्तिम अक्षरमा ह्स्व र दिर्घ उकार मात्रै फरक रहेको र त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन निर्देशिकाले संगठनहरुले माग गरेमा पार्टीको साकेंतिकरण गर्न पाउने व्यवस्था अनुसार पटक–पटक माग गरे पनि वेवास्ता गरेको भन्दै आज निर्वाचन समितिको कार्यलयमा तालाबन्दी गरेका हुन ।
फागुन २७ गतेका दिन त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन सम्बन्धि निर्देशिका २०७९ ले तोकेका नीति नियम अनुसार र स्ववियु निर्वाचन समिति २०७९ बाट प्रकाशित कार्यक्रमका आधारमा अनेरास्ववियु (एमाले) को सांगठनिक नामबाट प्रत्यक्ष तर्फ ११ जना र समानुपातिक तर्फ १६ जनाको उम्मेदवारी मनोनयन पत्र दाखिला गरिएको भन्दै अनेरास्ववियुले उक्त निर्देशिकाको दफा ७ को उपदफा (३) र दफा ८ को उपदफा )१) अनुसार पार्टीसँग मिल्नेगरि सांकेतिकरण गरिपाउँ फागुन २५ गते स्ववियु निर्वाचन समिति समक्ष निवेदन पेस गरेको उल्लेख गरेको छ ।
फागुन २८ गते निर्वाचन समितिमा विज्ञप्ती समेत पेस गरेको जानकारि गराउँदै अनेरास्ववियुले आफ्ना मागलाई वेवास्ता गरि बिना सहमति निर्वाचन समितिले सोहि दिन राती १० बजे एकलौटि ढंगले उम्मेदवारहरुको नाम प्रकाशन गरेको प्रति भर्त्सना गरेको छ ।
विज्ञप्ती बुझाउदै अनेरास्ववियुका नेता मिलन घिमिरेले क्याम्पस प्रशासनले नियोजित ढगंले एक पक्षलाई पक्षपोषण गर्न फाल्गुन १७ गते प्रकाशन गर्नुपर्ने संगठन दर्ताको सूचना हाल सम्म प्रकाशन नगरेको र फाल्गुन २७ गते ४ बजे प्रकाशन गर्नुपर्ने उम्मेदवारको नामावली २८ गते राती प्रकाशन गरेको, प्रहरी प्रशासनलाई अनावश्यक क्याम्पस हाता भित्र प्रवेश गराई मध्यरातमा एक पक्षिय ढंगले अघि बढेको आरोप लगाउनुभयो ।
उहाँले यस्ता गैह्र जिम्मेवार कार्यको अनेरास्ववियुले भर्त्सना गर्ने भन्दै दर्ता नै नभएको गठबन्धनलाई जबरजस्ती निर्वाचन समितिले स्थापित गर्न खोजेको समेत बताउनुभयो । अनेरास्ववियुले समितिले समान र न्यायपूर्ण व्यवहार नगरे संगठन जस्तोसुकै कदम चाल्न तयार हुने र त्यसको जिम्मेवार क्याम्पस प्रशासन र निर्वाचन समिति हुनु पर्ने बताएको छ ।
निर्वाचन समिति पक्षपाति र असक्षम रहेको भन्दै निर्देशिकाले दिएको सांकेतिकरण अधिकार प्राप्त नहुन्जेल सम्म पहिलो चरणमा सुकुना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको अनेरास्ववियु सुकुनाका सचिव रविन भण्डारीले बताउनुभयो । सुकुना बहुमुखी क्याम्पसमा पार्टीको साकेंतिकरणको विषयलाई लिएर विद्यार्थी संगठनहरु विच मतभेद रहेको छ ।