तुलसी बहुमखी सहकारीका दुई सञ्चालकसहित तीन जना पक्राउः पिडितलाई उजुरी दिन प्रहरीको आग्रह

विराटनगर । १० हजार भन्दा बढी सर्वसाधारणको करिब एक अर्ब ४९ करोड रुपैयाँ ठगी गरेको आरोपमा तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक र सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ गरिएका उनीहरुलाई ठगी मुद्दा चलाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ । सहकारी मार्फत सर्वसाधारणको रकम संकलन गरेर ठगी गरेपछि ठगी मुद्दा चलाउने तयारी गरेको हो ।

पक्राउ पर्नेहरुमा सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवास रहेको मोरङ प्रहरीका प्रमुख दीपक पोखरेलले बताउनुभयो ।

आज जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक पोखरेलले सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने अझै फरार रहेको र खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयमा हालसम्म १२१ जनाले १२ करोड ९ लाख ४ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेका छन् । सहकारीबाट विराटनगर महानगरपालिका भित्र मात्रै ४ हजार जना भन्दा बढी ठगिएका छन् ।

प्रहरी उपरीक्षक पोखरेलले बचत फिर्ता नपाएका बचतकर्ता तथा पिडितलाई ५ दिनभित्र उजुरी गर्न समेत आग्रह गर्नुभएको छ । कार्यक्षेत्र नेपालभर रहेको यस सहकारीको मुख्य कार्यालय विराटनगरमा छ ।

झापाको दमक, उदयपुरको गाइघाट र सिराहाको गोलबजारमा सेवा केन्द्र सञ्चालन गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारीमा २१ हजार ७ सय १३ जना सदस्य छन् ।

सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि विराटनगरमा रहेको दुई वटा कार्यालयसहित झापा, उदयपुर र सिराहाका कार्यालय बन्द छन् । फागुन १ गतेबाट सहकारीले सञ्चालन गरेको अन्य व्यवसाय पनि बन्द छन् ।

१५ प्रतिशतसम्म ब्याज दिने भन्दै सहकारीले लोभ देखाएपछि एक बचतकर्ताले एक करोडसम्म बचत गरेका छन् । सर्वसाधारणले बचत फिर्ता माग्दै प्रदर्शन गरेपछि अध्यक्षको आफन्त सहकारीकी सचिव सविना न्यौपाने र उपाध्यक्ष अनिता गौतमलाई प्रहरीले पक्राउ गरेको थियो ।

सहकारीले सर्वसाधारणबाट संकलन गरेको रकम कृषि व्यावसाय, राइस मिल, घडेरी खरिद लगायतका क्षेत्रमा लगानी गरेको पाइएको छ । सहकारीबाट विराटनगरमा मात्रै ५० करोड भन्दाबढी रकम सर्वसाधारणबाट संकलन गरेको प्रहरीको दाबी छ ।

१ फागुनदेखि बन्द भएको सहकारी तत्काल खोलेर लगानी उठाएर बचत फिर्ता गर्ने भन्दै सञ्चालकले बचतकर्तालाई आश्वासन दिएका थिए । तर प्रहरीले सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने भएपछि सहकारी सञ्चालनमा अन्योल भएको छ ।

सर्वसाधारणको एक अर्ब ४९ करोड रुपैयाँ बचत पनि जोखिममा परेको छ । बजारमा गरेको लगानी उठाएर फिर्ता गर्ने भनेपछि केही बचतकर्ताले सहकारी सञ्चालनको बातावरण बनाइरहेका थिए । तर ठगी मुद्दा चल्ने भएपछि सहकारी सञ्चालन र बचत फिर्ता अन्योल बनेको हो ।

जिल्ला प्रहरी कार्यायल मोरङका प्रहरी उपरीक्षक पोखरेल बचत फिर्ताका विषयमा सहकारी विभागले हेर्ने बताउनुभयो । प्रहरीमा ठगीको उजुरी आएपछि सञ्चालकलाई पक्राउ गरेको बताउँदै उहाँले बचतको विषय हेर्ने छुट्टै निकाय रहेकाले आफुहरुले ठगीमा कारबाही प्रकृया अगाडि बढाउने स्पष्ट पार्नुभयो ।

पछिल्लो समय सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत र साधारण बचतलगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज र बोनस दिने भन्दै बचतकर्ताहरुलाई आकर्षित गर्दै आएको पिडितहरुको भनाई छ ।

Back to top button