अबको हप्ता दिनभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : नेता रिजाल

वीरगञ्ज । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले कांग्रेस अबको एक हप्ताभित्र सरकारमा सहभागी हुने बताउनुभएको छ ।

आज वीरगञ्जका सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेस सरकारमा सहभागी हुने तयारी भइरहेको बताउनुभयो ।

‘कुन–कुन मन्त्रालय लिने र क–कस्लाई मन्त्री बनाउने बिषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ’, उहाँले भन्नुभयो,‘उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छौं।’

नेपाली कांग्रेसले ९ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब–करिब सहमति भएको उहाँको भनाइ थियो।

‘कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन’, सांसद रिजालले भन्नुभयो,‘पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन।’

Back to top button