कोशी प्रदेशका १५ वटा क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति निर्वाचित

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने कोशी प्रदेशका ६५ क्याम्पसमध्ये १५ वटा सर्वसम्मत रुपमा सभापति निर्वाचित भएका छन् ।

सर्वसम्मत निर्वाचित हुनेमा नेकपा एमाले निकट अनेरास्ववियुबाट ११, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट ३ र माओवादी निकट अखिल क्रान्तिकारीबाट एक जना रहेका छन् ।

अनेरास्ववियुबाट धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस धनकुटा, पाख्रिवास क्याम्पस धनकुटा, बुधुक क्याम्पस धनकुटा, ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, पीण्डेश्वर क्याम्पस धरान, गरामुनी क्याम्पस बिर्तामोड, एकतप्पा क्याम्पस इलाम, गरुवा क्याम्पस इलाम, संखुवासभा बहुमुखी क्याम्पस र मादी क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति निर्वाचित भएका हुन् ।

यस्तै नेविसंघबाट जीतपुर क्याम्पस धनकुटा, तल्लो गोकर्णेश्वर क्याम्पस धनकुटा र पाँचथर बहुमुखी क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएका छन् । पाँचथरको रवि क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् ।

चैत ५ गते हुने निर्वाचनका लागि शनिबार देशभर एकसाथ उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए ।

Back to top button