पीएनजीमाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा आजभएको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)माथि शानदार जित निकालेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा ७.४ ओभरमै पूरा गर्‍यो । नेपालका लागि सर्वाधिक आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्काको मद्दतले ५३ रनको अर्धशतकीय पारी खेल्दै नटआउट रहनुभयो ।

कुशल भुर्तेलले १४ बलमा ३३, कुशल मल्लले १३ बलमा १२ रन जोड्नुभएको थियो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भएको थियो ।

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिनुभयो । ललित राजवंशी र कुशल मल्लले दुई दुई र सोमपाल कामीले एक विकेट लिनुभयो ।

Back to top button