बिर्तामोडमा कोशी प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

बिर्तामोड। झापाको बिर्तामोडमा आजदेखि कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कोसी प्रदेशसभा सदस्य एकराज कार्कीले गर्नुभएको हो । लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।

लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीका अनुसार प्रतियोगिताका विजेता टोलीले रू ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् ।  त्यस्तै, द्वितीय हुने टोलीले रू ३० हजार ट्रफी र प्रमाणपत्र र तृतीय हुने टोलीले रू ७ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

 भेट्रानतर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजयीले रू ३० हजार, द्वितीयले रू १५ हजार र तृतीय हुने टोलीले रू ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लब अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिनुभयो ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा ३६ वटा टोलीको सहभागिता रहेको कार्यक्रम संयोजक लोरेन्स विष्टले बताउनुभयो ।

प्रतियोगितामा झापासहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरीलगायतका जिल्लाबाट खेलाडीहरु सहभागी छन् ।

Back to top button