राष्ट्रपति पौडेललाई पहिलो बधाई तथा शुभकामना भारतीय समकक्षीबाट

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई तथा शुभकामना दिनुभएको छ ।

आज शीतल निवासमा शपथ लिएर पदभार ग्रहण गरेपछि दक्षिणी छिमेकीको तर्फबाट पौडेललाई पहिलो बधाई आएको हो । ‘नेपालको नयाँ राष्ट्रपतिको रूपमा चुनिनु भएकोमा भारतका जनता, सरकार तथा मेरोतर्फबाट पनि बधाई ! शुभकामना सन्देशमा भनिएको छ ।

निकट र मैत्रीपूर्ण सम्बन्ध रहेका छिमेकीका रुपमा भारत र नेपालले सौहार्दपूर्ण तथा बहुआयामिक सम्बन्ध राख्दै आएका छन् भन्दै भारतीय राष्ट्रपति मुर्मूले गहिरो सभ्यता, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्धका विशेषता पनि हुन् भन्ने उल्लेख गर्नुभएको छ ।

उहाँले पछिल्ला केही वर्षदेखि नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति भएको पनि उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले नव निर्वाचित राष्ट्रपतिको कुशल मार्गदर्शनमा दुई देशबिच व्यापक सहयोग र सम्बन्ध अझै बलियो हुने विश्वास ब्यक्त गर्नुभएको छ ।

उहाँले द्विपक्षीय साझेदारीलाई बढाउन र मजबुत बनाउन आफुले मिलेर काम गर्ने अपेक्षा पनि राखेको बताउनुभएको छ । उहाँले नेपाल र नेपाली जनताको निरन्तर प्रगति र समृद्धिका लागि पनि शुभकामना दिनुभएको छ ।

Back to top button