मिल्स गोल्डकप: सहलेस युवा क्लब सेमिफाइनलमा, आज गाईघाट र विरगंजको खेल हुने

विराटनगर । सिराहाको सहलेस युवा क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा हिजो सम्पन्न खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले हराउँदै सहलेस युवा क्लब सिराहा सेमिफाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो सडनडेथबाट भएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडनडेथमा धकेलिएको थियो ।

जितको लागि सिराहाका यानिक, नविन न्यौपाने, डेनियल, स्यानगियो, निश्चल ठाकुरी र दिपसन राईले गोल गर्नुभएको थियो । सिरहाका निश्चल लामाको प्रहारलाई साइनोका गोलकिपर प्रज्वल श्रेष्ठले उत्कृष्ट बचाउ गर्नुभयो । फोफोनाको प्रहार बाहिरिन पुग्यो ।

साइनोको तर्फबाट असिम राई, सन्जय धिमाल, सागर खड्का, कोमल खवास र सुमन मगरले गोल गर्नुभयो । साइनोका सागर विक, दोर्जे तामाङ्ग र दिवेश मगरको प्रहार सिरहाका गोलकिपर सागर मगरले उत्कृष्ट बचाउ गर्दै टिमलाई समिफाइनलमा पुर्‍याउन सफल हुनुभयो । मगर नै खेलको म्यान अफ द म्याच घोषित हुनुभयो ।

घरेलु दर्शकको साथ पाएको साइनोका तर्फबाट खेल सुरु भएको एक मिनेटमै सन्जय धिमालले गोल गर्नुभयो । खेल सुरू भएको एक मिनेटमै गोल भएपछि सिराहा दबाव परेको थियो ।

पहिलो गोल खाएपछि सिराहले आक्रामक शैली अपनायो । १८ औं मिनेटमा विदेशी खेलाडी यानिकले गोल गरेपछि खेल बराबरीमा फर्कियो । सिराहाका सुदिप मगरले निकालिदिएको क्रस पासलाई यानिकले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको हो ।

चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको सिराहाले पहिलो हाफमा यानिकको आधा दर्जन गोल गर्ने अवसर चुक्यो । ३८ औं मिनेटमा पेलान्टि एरियादेखि यानिकको प्रहार बाहिरिँदा पहिलो हाफमा दोब्बर हुने अवसर गुम्यो ।

दोस्रो हाफदेखि सिराहाले आक्रमक खेल पस्कियो । अन्त्यतिर सिराहाका यानिकले प्रहार गरेको बलमा पोस्ट बाधक बनेपछि जित हात पार्न सडनडेथसम्म कुर्नुपर्‍यो । आजको खेल गाईघाट फुटबल क्लब उदयपुर र विरगंज युनाईटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Back to top button