एकीकृत स्वास्थ्य शिविरमा विराटनगरका ४ हजार बढीको परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा ४ हजारभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् ।

गत माघ २९ गतेदेखि सुरु भएको एक महिने शिविरमा ४ हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिनुभयो । विराटनगर वडा नम्बर १८ बाट सुरु भएको शिविर हिजो वडा नम्बर १९ बाट समापन भएको हो ।

पुरुषभन्दा महिलाले बढी स्वास्थ्य सेवा लिएको अलिले बताउनुभयो । २ हजार ४ सय ४५ जना महिला र १ हजार ४ सय ३४ जना पुरुषले स्वास्थ्य जाँच गराएका थिए ।

जसमा भिडियो एक्स–रे १ हजार १ सय ७६ जना, ईसीजी ५ सय ३५ जना, ल्याब सेवा ८३० जना, भीआइए (पाठेघरको जाँच) ६ सय ५० जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

शिविरमा कोशी अस्पताल, विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, क्षयरोग निवारण संस्थालगायतले सहयोग पुर्‍याएका थिए । समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्यमा दक्ष जनशक्तिको व्यवस्थापनमा महानगर लागिपरेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १९ का श्याम घिमिरेलगायतको उपस्थिति रहेको थियो । शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग, हाडजोर्नी, छालारोग, फिजिसियनलगायतका सेवा प्रवाह गरिएको थियो ।

Back to top button