जापान पठाउने नाममा ठगी प्रकरणः पिडित भन्छन् ललितबाट ठगियौं, मेयरको कुनै संलग्नता छैन

विराटनगर । जापान जाने प्रलोभनमा परेर ठगीएका युवाहरुले मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्याम राजवंशीको समेत नाम जोडिएर आएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताएका छन् ।

अनावश्यक रुपमा मेयर राजवंशीको नाम जोडिएको भन्दै उनीहरुले आफूहरु ललित राजवंशीबाट ठगिएको र त्यसमा मेयर राजवंशीको कुनै संलग्नता नरहेको बताएका हुन् ।

केही दिन अघि विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुलेनै आफुहरुमाथि भएको ठगीमा मेयर राजवंशीको पनि संलग्नता रहेको हुन सक्ने आशंका गरेका थिए । तर, उनीहरुले नै पुनः पत्रकार सम्मेलन गर्दै उक्त ठगीको विषयमा यथार्थ थाहा नपाई मेयर राजवंशीको नाम लिएर गल्ति गरेको स्वीकार गरेका छन् ।

सुनवर्षी–४ धोकरीयाका पिडित युवा देवराज राजवंशीले सो विषयमा आफुले यथार्थ बुझेपछि मेयर राजवंशीको कुनै पनि संलग्नता नदेखिएकाले पत्रकार सम्मेलन मार्फत नै गल्ति स्वीकारेको बताउनुभयो ।

‘अस्ति हामीले पत्रकार सम्मेलनमा सवै जना मिलेर मेयरमाथि अलिकति आरोप पनि लगाएको थियौँ । तर, बुझ्दै जाँदाखेरी उहाँ निर्दोष हुनुहुन्छ ।’ उहाँले भन्नुभयोे,‘उहाँले हामीलाईनै सपोर्ट गरिरहनु भएको छ ।’ उहाँले ठगीको विषयमा प्रकृया धेरै अघि बढेको बताउँदै आफुहरुलाई न्याय दिलाउन मेयर राजवंशीले सहयोग गरिरहेको बताउनुभयो ।

त्यस्तै अर्का पीडित रंगेली नगरपालिका–९ का युवा हरि राजवंशीले आफुहरुलेनै यसअघि दुई पटक पत्रकार सम्मेलन गरि मेयर राजवंशी माथि आरोप लगाएर गल्ति गरेको बताउनुभयो । उहाँले आशंकाकै भरमा मेयरले ठगी गर्नेलाई लुकाएको र ठगीमा उहाँको पनि हात रहेको भन्दै लगाएको आरोपप्रती क्षमा याचना गर्नुभएको छ ।

उहाँले समस्या समाधानका लागि मेयर राजवंशीले धेरै साथ सहयोग गरेको भन्दै अझै पनि साथ दिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले यथार्थ बुझ्दै जाँदा आफुहरुले मेयर राजवंशीमाथि लगाएको आरोप झुटो भएको बताउनुभयो ।

‘बुझदै जाँदा हामीले जे जती आरोप लगायौँ, त्यो सवै झुटो रहेछ । यसको लागि म उहाँ समक्ष क्षमाप्रार्थी छु ।’ उहाँले भन्नुभयो,‘मेयरले हामी पीडित पक्षलाई नै सहयोग गरिरहनुभएको छ । हाम्रो समस्या समाधानका लागि प्रोसेसहरु अगाडी बढाइरहनु भएको छ । उहाँलाई दोषि भन्न सक्दिन ।’

उनीहरुले नगरपालिकामा मेयर राजवंशीको कार्य कक्षमै पुगेर माफिसमेत मागेका छन् । उनीहरुसहित ४१ जना युवाहरुलाई बैदेशिक रोजगारीमा जापान पठाई दिन्छु भन्दै ललित राजवंशीले करोडौँ रुपैयाँ ठगी गरेको बताएका छन् ।

Back to top button