नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीलाई सहयोग गर्न तयार छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुकसँगको आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार कनेक्टिभिटी अत्यावश्यक रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजना गरेको नेपाल–चीन व्यापार मञ्चको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको बताउनुभएको हो ।

उहाँले प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन र संरक्षण गर्ने जिकिर गर्नुभयो। प्रचण्डले सीमापार कनेक्टिभिटीको आवश्यकतालाई ध्यानमा राखि सरकारले नेपाल–चीन सीमानाका पूर्वाधार सुधार, सीमानाकामा परीक्षण र मान्यताका लागि पूर्ण सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्ने र विभिन्न स्थानमा बन्दरगाह निर्माणलाई तीव्रता दिएको बताउनुभयो ।

उहाँले लाभदायक क्षेत्रहरु जलविद्युत, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानी लगायतमा लगानी गर्न आह्वान गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपालको कानुनले लगानीबाट कमाएको आम्दानीको पूर्ण फिर्तीलाई अनुमति दिने र नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्ने भएकाले लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको धारणा राख्नुभयो।

उहाँले नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीहरूलाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सीमापार रेलवे र प्रसारण लाइनहरूको सम्भावनाले आगामी वर्षहरूमा २ देशको आर्थिक सम्बन्धलाई उल्लेखनीय रूपमा सुधार गर्न मद्दत गर्ने प्रचण्डले विश्वास व्यक्त गर्नुभयो।

Back to top button