मानव अधिकार आयोगलाई धम्की दिने काम भइरहेको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम भईरहेको बताउनुभएको छ । आज राष्ट्रिय मानव अधिकार तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधनमा माओवादी केन्द्रतर्फ संकेत गर्दै ओलीले मानव अधिकारको कुरा गर्दै आयोगलाई नै घेराबन्दी गर्ने, धम्क्याउने काम गरेको बताउनुभएको हो ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परराष्ट्रमन्त्री डा. बिमला राई पौडेललाई संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद् सम्मेलनमा सहभागी हुनबाट रोकेकोप्रति आपत्ति जनाउँदै भननुभयो,‘मानव अधिकारको विषयमा बोल्लान भन्ने डरले मन्त्रीलाई जान रोकियो। चोरको खुट्टा काटभन्दा फुत्त खुट्टा निकालेजस्तो देखियो। छन्द अपराधि त्रर्सित रहेका हुन्छन्, अपराध गरेका छन्। मन्त्रीले अन्तराष्ट्रिय फोरममा बोल्यो भने भन्ने डरत्रास छ।’

अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई घेराबन्दी गरेर धम्की दिइने गरेकोप्रति पनि आपत्ति जनाउनुभयो। ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन, धम्क्याउँछन्। हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन्, हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन्। हाम्रो बन्दुकको कार्तुस ओसिएको छैन चल्छ अहिलेपनि भन्छन्।’

उहाँले थप्नुभयो, ‘हाम्रा हात,पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन्। खुट्टा याद राख्नुस भन्न सक्छन्। यो हुँदैन भन्न सकिँदैन। हाम्रो एलाइन्स आफैंमा मानवअधिकारप्रति समर्पित, इमान्दार हुनुपर्छ। मानव अधिकारप्रति उभिन सक्ने, बोल्न सक्ने, रक्षाका निम्ति लडनसक्ने त्यो हुनुपर्छ।’

‘बन्दुकमा खिया लागेको छैन भनेको के? ’ प्रश्न गर्दै ओलीले भन्नुभयो, ‘सत्ता र सरकारमा हुने अर्कातिर आतंककारी क्रियालाप पनि गर्ने? यसलाई फेर्न हाम्रो एलाइन्स लाग्नुपर्छ।’

मानवअधिकारको एलाइन्स कुनै राजनीतिक दल विशेषमा नलागि मानव अधिकारको पक्षमा लाग्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘थर्काउनु, धम्क्याउनु, अपमान गर्नु, शोषण गर्नु मानव अधिकार विरोधि क्रियाकलाप हो।’

Back to top button