कोशी रिफ्रेसमेन्ट सेन्टर दुई वर्षभित्र निर्माण सक्ने तयारी

विराटनगर । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले समुद्घाटन गरेको प्रदेशकै गौरवको आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टरको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने तयारी गरिएको छ ।

तात्कालिन सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको समेत पहलकदमीमा सुरु भएको यो आयोजनाको २०७५ माघ २४ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलन्यास गर्नुभएको थियो ।

बाइस बिघा क्षेत्रफलमा २ अर्ब ८ करोड रुपैयाँ लागतमा कोशी रिफ्रेसमेन्ट सेन्टर बनाउन शिलन्यास गरेको दुई वर्षपछि २०७७ पुस १० गते परियोजना हेर्नको लागि सुनसरी सदरमुकाम इनरुवामा कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजना कार्यालय समेत स्थापना गरिएको थियो ।

९ औं तहको आयोजना प्रमुख सहित १० जनाको दरबन्दी कायम गरी कार्यालय स्थापना भएको थियो । तर सत्ता समिकरण फेरिँदै राजेन्द्र राई मुख्यमन्त्री भएर आएपछि २०७८ चैत २४ गते उक्त परियोजना नै खारेज गरियो ।

परियोजना खारेज गरेर रिफ्रेसमेन्ट सेन्टर हेर्ने जिम्मा शहरी विकास तथा भवन कार्यालय मोरङलाई २०७९ वैशाख १५ गतेदेखि जिम्मा दिइएको थियो ।  परियोजना हेर्ने कार्यालय खारेज गरी भवन कार्यालयलाई दिएपछि बजेट अभावका कारण प्रदेशको गौरवको आयोजना अलपत्र अवस्थामा पुग्यो ।

आयोजनाका लागि प्रदेश सरकारले पर्याप्त मात्रामा बजेटको व्यवस्था नगर्दा गौरवको आयोजना अलपत्र बन्न पुगेको हो । यद्यपी प्रदेशको गौरवको आयोजनालाई यथाशक्य चाँडो सम्पन्न गर्नुपर्ने उद्देश्यका साथ वर्तमान हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार सक्रिय भएको छ ।

रिफ्रेसमेन्ट सेन्टरको अवस्थाको अनुगमन र निरीक्षण गर्नको मुख्यमन्त्री कार्कीसहित भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाइँ निर्माणास्थल पुग्नुभएको थियो ।

प्रदेश सरकारको गौरवको परियोजनाको निरीक्षण गरेपछि मुख्यमन्त्री कार्कीले दुई वर्षभित्रमा कोशी रिफ्रेसमेन्ट सेन्टर सञ्चालनमा आउने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले अबको केहि दिनमै परियोजनाको रिभ्यू गरी कुन मोडालिटीमा काम गर्न सकिन्छ, त्यसको खाका तयारी गरिने बताउनुभयो ।

उहाँले चैत २० गतेभित्रमा सरोकारवालाहरूको भेला बोलाएर अधुरो परियोजनाको काम अगाडि बढाइने भन्दै त्यसको लागि भौतिक पूर्वाधार मन्त्रालयले काम थाल्ने जानकारी दिनुभयो ।

यस्तै खारेज गरेको कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको कार्यालय एक महिनाभित्रमा स्थापना गर्ने गरी काम गर्न भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईले निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयका सचिव मोहनराज चापागाइँको नेतृत्वमा परियोजना हेर्ने कार्यालय स्थापना गरी काम गर्न निर्देशन दिनुभएको हो ।

कोशी रिफ्रेसमेन्ट सेन्टरको निर्माण गर्ने ठेक्का कविन्द्र–नव सृजनशील जेभी किर्तिपुरले पाएको छ । निर्माण सुरु भएको दुई वर्षमा भौतिक प्रगति ६० प्रतिशत भएको शहरी विकास तथा भवन कार्यालय मोरङका कार्यालय प्रमुख रुद्रनारायण मिश्रले बताउनुभयो ।

दुई चरणमा निर्माण हुने यस रिफ्रेसमेन्ट सेन्टरको पहिलो चरण अन्तर्गत अहिलेसम्म ११ करोड ३४ लाख ४४ हजार ६७९ रुपैयाँ खर्च भईसकेको छ । सेन्टरमा थकाली खाना घर, हेल्थपोस्ट, प्रशासनिक भवन, प्रहरी चौकी, पर्खाल, गेटलगायतको काम अहिले धमाधम भईरहेको छ ।

रिफ्रेसमेन्ट सेन्टर परियोजना अन्तर्गत कोशी कटानमा सुविधा सम्पन्न होटल, ७ तले कम्प्लेक्स, हेल्थपोस्ट भवन, पेट्रोल पम्प, बसपार्क, भ्यू टावर, स्विमिङ पुल, सिनेमा हल र लिफ्टसहितको आकाशे पुललगायतका संरचना निर्माण गरिने भएको छ ।

मधेश प्रदेशबाट प्रवेश गर्ने वित्तिकै कोशी प्रदेशमा यही कोशी रिप्रेसमेन्टले आगन्तुकहरुलाई स्वागत गर्ने एउटा प्रदेशको गौरवको नमुना बन्नेछ ।

Back to top button