ध्वनि प्रदूषण नियन्त्रणमा विराटनगर महानगरको चासो

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले ध्वनि प्रदुषण नियन्त्रण गर्ने तयारी गरेको छ ।

विराटनगरस्थित धार्मिक र नागरिक समाजका अगुवाहरुलाई बोलाएर कसरी ध्वनि प्रदूषण नियन्त्रण गर्न सकिन्छ भन्दै महानगरले सुझाव मागेको छ । अन्तरक्रियामा सहभागीहरुले महानगरले सुरु गरेको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा सहभागिहरुले विभिन्न धार्मीक तथा सामाजिक काम गर्दा बजाइने डिजेका कारण मुटुका रोगी, ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई बढी असर पर्ने भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

छोयलिङ बौद्ध गुम्बा रानीका कोषाध्यक्ष अनुपकुमार स्याङ्बोले पछिल्लो समय महानगरपालिकाले जनआकांक्षाअनुसारका कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले ध्वनि प्रदूषण नियन्त्रण अति नै आवश्यक रहेको बताउनुभयो ।

इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्लले धार्मिक कार्यक्रम गर्दा अरुलाई असर नपर्ने गरी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले इसाई समाजले बाहिर कसैले थाहै नपाउने गरी हलभित्र धार्मिक कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

मुस्लिम समुदायको तर्फबाट जामियत उलामा ए–नेपालका अध्यक्षले अब्दुल सुब्हानले ध्वनि प्रदूषण नियन्त्रणका लागि आफ्नो समुदायले महानगरलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ओसो ध्यान केन्द्रका संयोजक दिलीपकुमार मण्डलले महानगरले अत्यन्तै सान्दर्भिक विषयमा छलफल चलाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले डिजेमा प्रतिबन्ध लगाउन सुझाव दिँदै धार्मिक कार्यक्रम पनि अरुलाई असर नपर्ने गरी गर्दा राम्रो हुने बताउनुभयो ।

अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले विराटनगरलाई सुव्यवस्थित, संस्कारयुक्त र अनुशासित सहर बनाउने अभियानअन्तर्गत ध्वनि प्रदूषण नियन्त्रण गर्न परामर्श लिइएको बताउनुभयो ।

मुटुरोगीलाई ध्वनि प्रदूषणले सबैभन्दा बढी समस्यामा पारेको भन्दै उहाँले पटक–पटक छलफल गरेर भएपनि सबैको सल्लाह लिएर निष्कर्षमा पुग्ने बताउनुभयो ।

उहाँले धार्मिक तथा समाजिक कार्य गर्दा हुने ध्वनि प्रदूषणलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेमा महानगर लागिपरेको बताउँदै यसमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सडकमै विवाह र धार्मिक कार्यक्रम गर्दा आवतजावतमा हुने समस्या, चारतिर फर्काएर माइक बजाउँदा पर्ने असर लगायतका विषयवस्तु प्रस्तुत गर्नुभयो ।

उहाँले धार्मिक क्षेत्रका अगुवा, नागरिक समाज र बुद्धिजीवीलगायतको धारणा लिएर महानगरले ध्वनि प्रदूषण नियन्त्रणको निर्णय गर्ने जानकारी दिनुभयो ।

छलफलमा उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, १८ का जितेन्द्रकुमार साहलगायत कार्यपालिका सदस्यहरुको उपस्थिति थियो ।

Back to top button