
काठमाडौं । रुसको एक लडाकु विमानसँग ठोक्किएर अमेरिकाको ड्रोन दुर्घटना भएको छ ।
युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला भएको यो दुर्घटनापछि दुवै देशका सेना सतर्क अवस्थामा रहेको बीबीसीले जनाएको छ ।
हिजो रुसीको एसयू–२७ लडाकु विमान र अमेरिकाको मानवरहीत ड्रोन आकाशमा उडिरहेका थिए । त्यही क्रममा अमेरिकी ड्रोन ‘ब्ल्याक सी’मा खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
अमेरिकी वायु सेनाका अधिकारी जनरल जेम्स हेकरले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमित उडानमा भइरहेको बेला रुसी जेट लडाकु विमान जानी–जानी अगाडि आएर ठोक्किएको बताउनुभएको छ ।
रुसका अधिकारीहरुले भने अमेरिकी ड्रोन आफैं कालो सागरमा खसेको बताएका छन् । रुसको विमानसँग उक्त ड्रोन नठोक्किएको रुसी अधिकारीहरुको दाबी छ ।