हुलाकी सडक निर्माणलाई गति दिन मेयरको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ  ।

निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमा बोलाएर उहाँले लामो समयसम्म सडक नबन्दा स्थानीयले धेरै सास्ती व्यहोर्नु परेको भन्दै निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफल गर्नुभयो ।

उक्त सडक २०८० साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि कन्ट्रक्सनले ठेक्का लिएको थियो । तर, भूमि कन्ट्रक्सन निर्माण कार्य अलपत्र पारेर सम्पर्कविहीन भएपछि देव एण्ड सायर कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर दीपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, महानगरका इन्जिनियर अर्जुन थापा, निर्माण कम्पनीका इन्जिनियर दीपक चौधरी, साइट इन्चार्ज उमेश निरौलाको सहभागिता थियो ।

स्थानीयले ढाट लगाएर आवतजावत बन्द गर्दा निर्माण सामग्री ल्याएर काम गर्न समस्या भएको साइट इन्चार्ज निरौलाले गुनासो गरे । उहाँले पश्चिमबाट काम सुरु भइसकेकाले ढाट हटाउन पहल गरिदिन महानगरका मेयर कोइरालासित आग्रह गर्नुभएको थियो । लामो समयसम्म सडक निर्माण कार्य नभएको भन्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् ।

Back to top button