
पोखरा । कालिज फार्ममा पसेको चितुवाले आक्रमण गर्दा पोखरा १८ मा २ जना घाइते भएका छन् ।
भकुण्डेमा ध्रुव थापाले चलाइरहेको कालिज फार्ममा आज बिहान चितुवा पसेर त्यहाँका कामदारलाई आक्रमण गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिनुभयो।
उहाँका अनुसार कास्की रुपा गाउँपालिका–४ बस्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षे राजेश तिमिल्सिना चितुवाको आक्रमणबाट घाइते हुनुभएको हो ।
चितुवा फार्मबाट बाहिर निस्कने क्रममा उनीहरूमाथि चितुवा आक्रमणमा उत्रिएको थियो । उनीहरूको गालामा चितुवाले चिथोरेको र उपचारका लागि अस्पताल भर्ना गरिएको जोशीले जानकारी दिनुभयो।
चितुवा खोज्दा मृत अवस्थामा झाडीमा भेटिएको पनि प्रहरीले जनाएको छ । मृत चितुवा प्रहरीले जिल्ला वन कार्यालय कास्कीलाई जिम्मा लगाएको छ ।