प्रधानमन्त्रीको विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने भएको छ।

प्रधानमन्त्रीले उपराष्ट्रपति निर्वाचन लगत्तै विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी भएको हो।

उपराष्ट्रपतिको निर्वाचन आउदो शुक्रबार हुँदैछ। उपराष्ट्रपतिको निर्वाचन सकिएको २ दिनपछि चैत ५ गते संसदको बैठक बस्दैछ।

त्यसदिनको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने सरकारको तयारी छ। त्यस लगत्तै बस्ने बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने तयारी थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए। राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र अर्थात् चैत १३ सम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

सरकारमा सहभागी एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि १७ मन्त्रालयको जिम्मेवारी प्रचण्डले सम्हाल्नुभएको छ ।

यसअघि प्रतिपक्षमा रहेको नेपाली काँग्रेस भने एउटा मन्त्रालय लिएर भएपनि तत्काल सरकारमा सहभागी हुन चाहन्छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरे लगत्तै एमालेले छाडेका ८ मन्त्रालय काँग्रेललाई दिने गठबन्धनको तयारी छ।

Back to top button