बागमतीका मुख्यमन्त्रीले चैत ८ गते विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने हुनुभएको छ ।

राप्रपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

केही हप्ताअघि केन्द्रमा राजनीतिक समिकरण बदलिएसँगै बागमतीमा राप्रपाबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीले राजीनामा दिनुभएको थियो। राप्रपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गत पुष २६ गते बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले,नेकपा माओवादी र राप्रपाको संयुक्त गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जम्मकट्टेल,आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र जलस्रोत सिचाईं तथा उर्जा मन्त्रीको रुपमा उद्धव थापासहितको मन्त्रिपरिषद् गठन भएको थियो ।

वर्तमान मन्त्रिपरिषद्मा नेकपा माओवादी र नेकपा एमालेको मात्रै मन्त्रीहरू समावेश छन् । अहिले नेकपा एमालेका तर्फबाट मन्त्रीहरूले कुनै प्रतिक्रिया नजनाई पदमा बहाली रहेको हुँदा विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको पनि प्रदेशसभा सचिवालयले जनाएको छ ।

Back to top button