फिल्म निर्देशक प्रताप सुब्बाको आज ७८ वर्षको उमेरमा निधन

काठमाडौं । ‘परालको आगो’ फेम्ड वरिष्ठ निर्देशक प्रताप सुब्बाको आज ७८ वर्षको उमेरमा निधन भएको छ ।

भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उहाँको निधन भएको हो । उहाँ पहिलो नेपालीमूलको भारतीय फिल्म निर्देशक समेत हो ।

२०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थाल्नुभएका सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गर्नुभएको छ ।

नेपाली मौलिक फिल्मका प्रणेता मानिनुहुने सुब्बा निर्देशित परालको आगो नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली फिल्म थियो । यसलाई साहित्यलाई अंगीकार गरिएको फिल्म मानिन्छ । निर्देशक तथा निर्माता नीर शाहका अनुसार सुब्बा बंगाली निर्देशक सत्यजित रे र मृणाल सेन स्कुल अफ थटका निर्देशक हो ।

यस्तै, ४० को दशकमा नेपाल आउनुभएका उहाँले चर्चित नेपाली फिल्म र टेलिफिल्म निर्देशन गरेर ५० को दशकमा पुनः दार्जिलिङ फर्किनुभएको थियो। अघिल्लो संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा उपस्थित भएर उहाँले आफ्ना कुरा सुनाउनुभएको थियो।

Back to top button