विराटनगरमा कोशी नाम खारेजको माग गर्दै विरोध प्रदर्शन, २ जना पक्राउ

विराटनगर । विराटनगरस्थित प्रदेशसभा भवन अगाडि कोशी प्रदेश नाम खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्नेमध्येबाट प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश सभा सचिवालय अगाडि राखिएको ‘पहिचानका लागि सडक साहित्यिक यात्रा’ नाम विरोध कार्यक्रमबाट प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पत्रकार एवं लेखक जनकऋषि राई र सञ्जय याक्खालाई नियन्त्रणमा लिएको छ । राई पत्रकार महासंघ सुनसरीको अध्यक्ष समेत हो ।

पहिचानसहितको नामकरण र कोशी नाम खारेजीको माग गर्दै कविता वाचन गर्ने क्रममा राई र याक्खालाई प्रहरीले नियन्त्रणमा लिएको किँरात अन्तराष्ट्रिय सांस्कृतिक अभियानका संयोजक भद्रगोल किराँतीले बताउनुभयो ।

सडकमा कविता समेत वाचन गर्न नदिएर प्रहरीले निरंकुशता देखाउन खोजेको उहाँले आरोप लगाउनुभयो ।

प्रहरीले भने प्रदेशसभा भवन वरिपरि विरोध कार्यक्रम गर्न नपाइने बताएपनि अटेर गरी सोही स्थानमा कार्यक्रम गर्न खोजेपछि नियन्त्रणमा लिएको जनाएको छ ।

Back to top button