त्रिचन्द्र क्याम्पसमा चैत ९ गते निर्वाचन हुने

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचन हुने भएको छ । घण्टाघरस्थित सो क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै ९ गते निर्वाचन गर्ने मिति तय गरेको हो ।

विद्यार्थी भर्नालाई लिएर विवादका कारण त्रिचन्द्रमा निर्वाचन तालिका प्रभावित बनेको थियो । निर्वाचन अधिकृत राजेन्द्र गौतमले जारी गरेको सूचनामा मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने उल्लेख छ । दावी विरोधका लागि चैत ४ गतेको समय तोकिएको छ ।

यस्तै, चैत ५ गते उम्मेदवारी दर्ता र ६ गते उम्मेदवारमाथि दावी विरोधका लागि समय दिइएको छ । ७ गते प्रचार–प्रसारका लागि समय दिने तय भएको छ । ९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय गरिएको छ ।

त्रिचन्द्र कलेजमा निर्वाचन प्रक्रियाका विषयलाई लिएर विद्यार्थीले क्याम्पस प्रमुख प्रा.डा.सुनिल अधिकारीको कुर्सी र नेम प्लेट नै गेटमा राखेर प्रदर्शन गरेका थिए । देशभरका क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव तोकिएको छ ।

Back to top button