उपराष्ट्रपति चयनको लागि आज मतदान हुँदै, परिणाम आजै आउने

काठमाडौं । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । जसका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा हुनुहुन्छ ।

सत्तारुढ गठबन्धनबाटै तीनजनाको उम्मेदवारी परेकामा जसपाकी प्रमिलाकुमारी यादवले राम सहायललाई उपराष्ट्रपतिमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत पाँच दलको समर्थन रहेको छ । झालाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् । शाक्यलाई एमालेको मात्रै समर्थन छ।

निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।

मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ । मतदान सम्पन्न लगत्तै मतगणना सुरू गर्ने र साँझ ६ बजेभित्र निर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ।

उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाइ मतसङ्केत गर्नुपर्नेछ ।स्वविवेक प्रयोग गरी मतदान गर्न आयोगले अनुरोध गरेको छ।

यो निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन,२०७४ ले गरेको छ। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ गणना हुन्छ। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।

Back to top button