‘आधा शिर उचालेर’ कवितासङ्हमाथि विमर्श

विराटनगर । कवि ज्योति जङ्गलद्वारा लिखित ‘आधा शिर उचालेर’ कविता सङ्ग्रहमाथि विमर्श गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको विमर्श कार्यक्रममा कवि साहित्यकारहरुले कवितासङ्ग्रहमाथि आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, पत्रकार अनन्तराज न्यौपाने, कवि शुभलक्ष्मी लम्सालले कवितासङ्ग्रह पठनीय भएको बताउनुभयो ।

कवि रमेश सायनले सहजीकरण गरेको कार्यक्रममा समालोचकसमेत रहनुभएका सुवेदीले नारी संवेदनामा आधारित स्नेहयात्मक विद्रोही भएर कविता रचना गरेकाले जीवन, समाज र प्रकृतिलाई सुन्दर रुपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।

प्राज्ञ विवश पोखरेलले सङ्ग्रहमा ग्रामीण जनजीवनका भाव र विम्बलाई कलात्मक रुपमा प्रस्तुत गरिएको बताउनुभयो । कवि शुभलक्ष्मी लम्सालले सङ्ग्रहमा नारी विद्रोहलाई सुन्दर रुपमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयो । पत्रकार न्यौपानेले नयाँ विम्ब र प्रतीकको प्रयोगले कवितासङ्ग्रह सुन्दर भएको बताउनुभयो ।

कवि रमेशचन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कवि राधिका गुरागाईं, सविता गौतम दाहाल, दीपक शम्चु र दीपा दाहालले सङ्ग्रहभित्रका कविता वाचन गर्नुभएको थियो ।

कवि जङ्गलले पुरुषको तुलनामा महिलाहरु अहिले पनि स्वतन्त्र नभएकाले यो कवितासङ्ग्रहको नाम आधा शिर उचालेर नाम राखिएको प्रस्ट पार्नुभयो ।

उहाँले सङ्ग्रहबाट कवितासमेत वाचन गर्नुभयो । सङ्ग्रहमा विभिन्न विषयवस्तुलाई आधार मानेर लेदिएका ३४ वटा कविताहरु संग्रहित छन् ।

Back to top button