
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश अर्कालाई जिम्मा लगाइदिऊँ’ भनेर अभियान चलाउनेहरुलाई तत्काल नियन्त्रणमा लिन माग गर्नुभएको छ । नभए जनताले प्रतिवाद गर्ने उहाँको चेतावनी छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशद्रोही अभियानबारे सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गर्नुभएको छ । ‘यो देशको सन्तान भन्न पनि नसुहाउने, देशद्रोही कुरा गरेर हिँडेको छ ।
सरकारले लगाएको कि नलगाएको? सरकार सुन्छ कि सुन्दैन?’, उहाँले भन्नुभयो,‘जनताले प्रतिवाद गर्न नपरोस्, शान्ति सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस् ।’
सार्वभौसत्ता, राष्ट्रियताविरुद्ध कोही चम्किँदै हिड्छ भने जनताले प्रतिवाद गर्ने उहाँले बताउनुभयो । ‘कुनै बैंकका डिफल्टर हुन् कि जो सुकै हुन्, कसैलाई पनि जनताले सहन सक्दैन’, एमाले अध्यक्ष ओलीले भन्नुभयो,‘लडेर बचाएको देश हो, साग र साइकल सस्तो पाइन्छ रे । यो देशको अन्न खाएर जन्मिएको हुँ भन्ने मान्छे कसरी बोल्न सक्छ यो देश अर्कालाई जिम्मा लगाइदिऊँ ।’
यस्तो अभियान चल्दा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।