राज्यले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताउनुभएको छ ।

आईसीसी लिग–२ मा तेस्रो स्थान प्रप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज शीतलनिवासमा बोलाएर बधाइ दिँदै उहाँले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘मैले हिजो इन्ट्रेस दिएर हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन।’

राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताउनुभयो । उहाँले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

उहाँले भन्नुभयो,‘यसमा त विश्वका देशहरुसँग प्रतिष्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीहरुको मनोबल बढाउन सरकारले लाग्नुपर्छ ।’

राष्ट्रपति पौडेलले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताउनुभयो ।

Back to top button