गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय यादव

काठमाडौं । गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति रामसहाय यादव निर्वाचित हुनुभएका छ । आज नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको निर्वाचनमा जसपाका नेता यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

यादव नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराउँदै उपराष्‍ट्रपतिमा निर्वाचित हुनुभयो । यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

संघीय संसदतर्फ १४ हजार ५ सय ३६ र प्रदेशसभातर्फ १५ हजार ७ सय ९२ गरी कूल ३० हजार ३ सय २८ मतभार प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गर्नुभयो। यस्तै, जनमतकी ममता झाले २ हजार ५ सय ३७ मतभार प्राप्त गर्नुभयो।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय जनमोर्चाको समर्थन रह्यो।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० सांसद मतदातामध्ये ८ सय २९ जनाले मतदान गरेका थिए। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ छ।

उपराष्ट्रपति निर्वाचनमा ५३ सांसद अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संघ र प्रदेश गरी ४२,नेमकिपाका ४ सांसदले मतदान गरेनन्।

जसपाका सांसद सनाज रहमान (निधन), राष्ट्रपति रामचन्द्र पौडेल, सांसद चन्द्र भण्डारी, वर्षमान पुन, लक्ष्मी कोइरी महतो र मनोरमा शेरचनाले मतदानबाट छुट्नुभएको हो । सत्तारुढ गठबन्धनबाटै ३ जनाको उम्मेदवारी परेकामा जसपाकी प्रमिलाकुमारी यादवले राम सहायललाई उपराष्ट्रपतिमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो।

उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको थियो।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।

Back to top button