मण्ठापोखरीको सौन्दर्यकरणको काम सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजनाहरू अघि सारेको छ । उत्तरीभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो ।

केही हप्ताअघि वडा नम्बर १४ स्थित रानीपोखरीमा ५ करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको शिलान्यास गरेको महानगरले त्यहिको मण्ठापोखरीको सौन्दर्यकरणको काम सुरु गरेको छ । मण्ठापोखरी परिसरमा निर्माण हुने संरचनाको महानगरले आज शिलन्यास गरेको हो ।

६ करोडभन्दा बढी लागतमा निर्माण हुने सुविधा सम्पन्न पार्कको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गर्नुभएको हो । महानगरको दक्षिणी क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको मेयर कोइरालाले बताउनुभयो ।

‘मैले चुनावताका गरेका वाचाहरू क्रमशः पूरा गर्दैछु,’ मेयर कोइरालाले भन्नुभयो,‘प्राचीन विराटराजाको दरबारको संरचना सञ्चालनमा आइसकेको छ । रानीपोखरीको पार्क निर्माण पनि सुरु भएको छ, अब मण्ठापोखरीको पनि काम सुरु भएको छ ।’ महानगरले चालु आर्थिक वर्षका लागि विराटराजा, रानीपोखरी र मण्ठापोखरीका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

वडा नम्बर १४ का अध्यक्ष सूर्यनारायण महतो, १५ का प्रकाश साह र १८ का जितेन्द्रकुमार साहले दक्षिणी क्षेत्रको विकासले अब गति लिने बताउनुभयो । आगामी २०८१ माघ १९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने ठेक्का पाएको कला विल्डर्सका प्रबन्धक संजयकुमार यादवको भनाइ छ ।

९ करोड ६ लाख ८० हजार लागत अनुमान भए पनि कला विल्डर्सले ६ करोड १९ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । मण्ठापोखरीको सौन्दर्यकरणसँगै पार्कसमेत निर्माण हुनेछ । पोखरी परिसरभित्र खुल्ला हल, भजन सेट, डबली, चौतारी, पानीको फोहोरा, बैठक कोठा, भ्यू डेक स्लाब, सुविधा सम्पन्न शौचालय, व्याडमिन्टन कोर्ट निर्माण गरिनेछ ।

त्यस्तै पश्चिम र दक्षिणमा आकर्षक प्रवेशद्वारसमेत निर्माण हुने कला विल्डर्सले जनाएको छ । विल्डर्ससित गत माघ १८ गते निर्माण सम्झौता भएको थियो । ५ करोड १७ लाख ६४ हजार मा ठेक्का लागेको रानीपोखरी ग्रिनपार्कको निर्माण धमाधम भइरहेको छ ।

Back to top button