
विराटनगर । कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधरहरुले विभिन्न आन्दोलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा संवेदनशीलता ख्याल गर्दै प्रदेशको राजधानी विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
कोशी नाममा असहमति जनाउदै विरोध, धर्ना र जुलुस हुन थालेपछि सुरक्षामा असर पर्ने भन्दै प्रशासनले केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ।
चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।
आदेश उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले सूचनामा उल्लेख छ।
५ गते पहिचान पक्षधरहरुले विराटनगरमा विरोधका कार्यक्रम गर्ने जनाएपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।