महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि उत्साहपूर्ण मतदान हुँदै

विराटनगर । आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ।

कोशी प्रदेशको सबैभन्दा ठूलो महेन्द्र मोरङ क्याम्पसमा पनि स्ववियु निर्वाचनका लागि उत्साहपूर्ण मतदान भइरहेको छ । निर्वाचन समितिका अनुसार बिहान ८ बजेबाट सुरु भएको मतदान दिउँसो ४ बजेसम्म हुनेछ।

क्याम्पसमा करिब ५ हजार ७ सय मतदाता छन् । १४ वर्षपछि भएको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन्। विद्यार्थीहरू बिहानैदेखि लाइनबद्ध भएर मतदानमा सहभागी भएका हुन्।

लामो समयपछि भएको मतदानमा सहभागी हुन पाउँदा विद्यार्थीहरू उत्साहीत देखिन्छन्। मतदानलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

यस्तै, क्याम्पसमा स्ववियु सभापतिका लागि ३ संगठनबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुबाट नवीन पहाडी, नेपाली कांग्रेस निकट नेविसंघबाट जशवन्त पौडेल, र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बाट रोहित यादव चुनावी मैदानमा हुनुहुन्छ ।

Back to top button