प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा आज बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो ।

सरकारमा जाने नजाने विषया अहिले कुनै छलफल नभएपनि सत्तापक्षको बेञ्चमा बसेपछि सरकारमा जान सकारात्मक नै रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा भोलि विश्वासको मत लिने कार्यक्रम तय भएको छ।

यस्तै, बैठकले पार्टी महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ भने घनश्याम भुसाललाई महासचिवमा मनोनयन गर्ने निर्णय गरेको खतिवडाले बताउनुभयो।

सो बैठकले पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रीय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रीय सचिवालयको संख्या १९ पुगेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो।

महासचिवमा मनोनित हुनुभएका भुसाल केहि समय अघि मात्रै समाजवादीमा प्रवेश गर्नुभएको थियो।

Back to top button