निषेधित क्षेत्र तोडेपछि विराटनगरमा झडप, चार जना प्रदर्शनकारी पक्राउ

विराटनगर । प्रदेशको नाम खारेजीको माग गर्दै विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । निषेधित क्षेत्रलाई तोड्दै प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालय तर्फ अघि बढेपछि दोहोरो झडप भएको थियो । झडपका क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेश १ को पुनः नामकरण गर्नुपर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वरिपरि मोरङ प्रशासनले जारी गरेको निषेधाज्ञा क्षेत्रभित्र प्रदर्शनकारीहरू प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ। प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री कार्कीको पुत्ला दहन गर्दै प्रहरी माथि ढुंगामुडा गरेका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङले देवकोटा चौकस्थित प्रदेशसभा सचिवालय र रोडशेषस्थित मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। प्रदेश सरकारले फाल्गुण १७ गते प्रदेशको नामकरण गरेको थियो।

प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा प्रदर्शनकारीले मुख्यमन्त्री हिक्मत कार्की र नेकपा एमाले विरुद्ध नाराबाजी समेत गरेका छन्।

Back to top button