दस बुँदे विराटनगर घोषणापत्र जारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

विराटनगर । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आज औपचारिक रुपमा सम्पन्न भएको हो ।

नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक–अर्को देशमा प्रवद्र्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको हो । त्यस्तै महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टाहरूलाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षैभरि दुवै देशमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्ने र एक–अर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्नेलगायत घोषणपत्रमा समेटिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले आफू महानगरको नेतृत्वमा आएदेखि नै साहित्य महोत्सव गर्ने योजना बनाएको सुनाउनुभयो । आगामी दिनमा थप व्यवस्थित र वृहत कार्यक्रम गर्ने उहाँले बताउनुभयो ।

विराटनगर राजनैतिक र आर्थिक नगरी मात्रै नभएर भाषा, साहित्य, कला र संस्कृतिको धनी नगरी भएको भन्दै उहाँले महानगरले भाषा, साहित्य, कला र संस्कृतिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपालका ७ वटै प्रदेशसहित भारतका सबै राज्यबाट प्रतिनिधिमूलक ३५० भन्दा बढी साहित्यकारहरूको सहभागिता थियो । तीनदिने महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा, कविगोष्ठीसमेत वाचन गरिएको थियो । महोत्सवमा २५० भन्दा बढीले सिर्जना वाचन गरेका थिए ।

अग्रज साहित्यकार विवश पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, मेरठ अकादमीका अध्यक्ष डा. विजय पण्डित, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, पोखराका साहित्यकार बलराम उपाध्याय रेग्मी, भानु कला केन्द्रकी अध्यक्ष माया पौडेल, कार्यक्रम संयोजक देवी पन्थी, चन्द्रागिरी साहित्य प्रतिष्ठान काठमाडौं अध्यक्ष जनार्दन अधिकारी धड्कन, साहित्यकारसमेत रहेका महानगरका मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, कवि गोकुल अधिकारीलगायतले भौगोलिक सीमाले नेपाल र भारतलाई विभाजित गरे पनि कला, साहित्य र संस्कृतिले जोडेको बताउनुभएको थियो ।

Back to top button