उर्लाबारी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

विराटनगर । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका विवेक कार्की निर्वाचित हुनुभएको हो । कार्कीले ६ सय ५१ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमाले निकट अनेरास्ववियुकी प्रीति दाहालले ३ सय २५ मत पाउनुभएको छ । दाहाल माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, राप्रपाको राप्रविसंघ, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र जसपाको समाजवादी विद्यार्थी युनियनका तर्फबाट संयुक्त उम्मेदवार हुनुहुन्थ्यो ।

यस्तै, सचिवमा नेविसंघका देवेन्द्र पौडेल ५ सय ९५ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारीका थानेश्वर अधिकारीले ३ सय ७० मत प्राप्त गर्नुभयो । त्यसैगरी कोषाध्यक्षमा भुवन श्रेष्ठ, सदस्यहरुमा सुजन शंकर, दिपेश चौधरी, अन्जना न्यौपाने, सन्दीप बुढाथोकी, शुसिला कार्की, कहना वि.क, विनिता गौतम र विराट थापा विजयी हुनुभएको छ ।

योसँगै नेविसंघले पहिलो पटक उर्लाबारी क्याम्पसमा स्ववियु सभापतिसहित प्यानल जितेको हो । अनेरास्ववियुको पडक मानिने उर्लाबारीमा ५ दलीय गठबन्धन हुँदा समेत यसपटक नेविसंघ एक्लै विजयी भएको हो ।

Back to top button