उदयपुरको बरुवा क्याम्पसको सभापतिमा अनेरास्ववियुका खड्का विजयी

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटस्थित बरुवा क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका शारदकुमार खड्का बिजयी हुनुभएको छ । हिजो भएको निर्वाचनमा खड्काले १ सय ४७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

त्यसैगरी सचिवमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका संजिव राउत १ सय ३७ मत र कोषाध्यक्षमा अनेरास्ववियुका अजिता पाण्डे १ सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत कृपाराम चौधरीका अनुसार सदस्यहरूमा अनेरास्ववियुका नारायण भट्टराई १ सय ३९, रागवी तुलाधार १ सय ३०, मिलन बुढाथोकी १ सय २८, विशाल विष्ट १ सय २५, भावना श्रेष्ठ १ सय २५ र अनेरास्ववियु क्रान्तिकारीका प्रविण मगर १ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उक्त क्याम्पसमा सचिव र एक सदस्य अनेरास्ववियु क्रान्तिकारी र बाँकी सभापति,कोषाध्यक्षसहित बहुमत सदस्य अनेरास्ववियुबाट विजयी भएका हुन् । ५ सय ५२ मतदाता रहेको वरुवा क्याम्पसमा ३ सय २४ मत खसेको चौधरीले जानकारी दिनुभयो ।

जिल्लाका ८ वटा क्याम्पस मध्ये त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, बरुवा क्याम्पस गाईघाट र नारद आदर्श क्याम्पस बसाहामा निर्वाचन भएको थियो । बाँकी क्याम्पस नयाँ रहेकाले निर्वाचन भएन । त्रियुगा जनता क्याम्पसको भने मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृत उमेश पाण्डेले बताउनुभयो ।

Back to top button