प्रधानमन्त्री प्रचण्डको बोलीको ठेगान भएन : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिको विषयमा एमालेसँग भएको समझदारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयन नगरेको प्रति आपत्ती जनाउनुभएको छ ।

आज संसद बैठकमा सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले पुष १० गते भएको सहमति विपरित राष्ट्रिय सहमतिको नाममा राष्ट्रपतिमा कांग्रेसका उमेदवारलाई भोट हालेर प्रधानमन्त्रीले धोका दिएको बताउनुभयो।

उपाध्यक्ष पौडेलले भन्नुभया,‘नेपाली कांग्रेस पनि संसदमा छ भनेर प्रधानमन्त्री दाहालले किन थाहा पाउनु भएन? पुष १० मा एमालेका उमेदवारलाई राष्ट्रपति बनाउने सहमति गरेर बालकोटबाट फर्किनुभएका दाहाललाई के त्यस्तो आइलाग्यो र कांग्रेसका उमेदवारलाई उहाँले समर्थन गर्नुभयो ।’

उहाँले देशको कार्यकारी व्यक्तिको अभिव्यक्ति विश्वसनीय नहुनु दुःखद भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले पुष २६ मा पहिलो पटक संसदबाट विश्वासको मत लिनुभएको थियो। पुष १० मा प्रधानमन्त्री बन्दा प्रचण्डलाई समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दोस्रो पटक आज विश्वासको मत लिँदै हुनुहुन्छ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाअनुरुप प्रधानमन्त्री प्रचण्ड आज विश्वासको मत लिन लागनुभएको हो ।

Back to top button