विराट गोल्डकपको सम्पूर्ण तयारी पूरा, घरेलुसहित ८ टोली सहभागी हुने

विराटनगर । चैत ९ गतेदेखि आयोजना हुने विराट गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा आयोजकसहित ८ टोली सहभागी हुनेछन् । शहीद रगशाला विराटनगरमा आयोजना हुने प्रतियोगितामा नेपालका ३ विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब सहभागी हुनेछन् ।

यस्तै, संकटा क्लब, जवालाखेल युथ क्लब र घरेलु टोली विराटनगर सिटी फुटबल क्लब सहभागी हुनेछन् ।

भारतमा जारी आई लिगको दोश्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब सहभागी हुने तयारी थियो । तर अन्तिमसमयमा दिल्लीले आफ्नो नाम फिर्ता लिएको छ । दिल्लीको ठाउँमा डुक लयुल फुटबल क्लब भुटान सहभागी हुने भएको छ ।

गोल्डकपको विजेता टोलीले २० लाख १५ हजार पुरस्कार पाउनेछन् । उपविजेताले १० लाख १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । गत सिजन विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार पुरस्कार पाएको थियो ।

२०१८ सालमा विराटनगर पहिलो पटक गोल्डकप सुरु भएको थियो । २७ औं संस्करणसम्म महेन्द्र गोल्डकपको रूपमा आयोजना गरिएको एन्फा उपमहासचिव बसन्त अर्यालले जानकारी दिनुभयो ।

२०६८ सालमा नाम परिवर्तन गरि विराट गोल्डकप राखिएको थियो । नाम परिवर्तन भएपछि सातौ पटक विराट गोल्डकप आयोजना गर्न लागिएको हो ।

गोल्डकप आयोजना गर्न २ करोड ५० लाख खर्च हुने विराट गोल्डकप ट्रष्टले जानकारी दिएको छ ।

Back to top button