प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार सम्पन्न मत विभाजनमा उहाँले २ सय ७३ सदस्यीय प्रतिनिधिसभा सदस्यमध्ये १ सय ७२ जनाको मत प्राप्त गर्नुभएको हो । सो बैठकमा २ सय ६२ जना उपस्थित थिए।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।

उहाँलाई नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसदले विश्वासको मत दिए।

प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले विश्वासको मत दिएनन्। प्रतिनिधिसभामा एमालेका ७९ जना, राप्रपाका १४ जना र नेमकिपाका १ जना सांसद रहेका छन्।

Back to top button