जातीय छुवाछूत अन्त्यका लागि सबै एकजुट हौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गर्नुभएको छ ।

आज ५८औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जातीय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताउनुभयो।

‘कानूनरुपमा बर्जित भएपनि छुवाछूत जस्तो अमानवीय प्रथा पूर्णरुपमा अन्त्य हुनसकेको छैन। यसलाई तोडनका लागि समाजका सवै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक रहेको छ’, उहाँद्वारा जारी सन्देशमा भनिएको छ। उहाँले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रुपमा आत्मसात गरेको समेत बताउनुभएको छ ।

अध्यक्ष ओलीले एमाले जात, जाति, वर्ग, वर्ण, लिङ्ग, धर्म, सस्कृतिलगायतका आधारमा गरिने विभेद र शोषणको विरुद्ध लड्दै आएको पार्टी रहेको उल्लेख गर्दै एमालेको सरकारले छुवाछूतबाट पीडित र प्रताडितको आर्थिक सवलिकरण र समाजिक मर्यादाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका खेलेको बताउनुभएको छ ।

Back to top button